काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनको मुखमा प्रसारण भएको बीबीसीको एक डकुमेन्ट्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै BBC World Serviceबाट २०८२ फागुन २९ गते प्रसारण भएको ‘Shot Like Enemies: Inside Nepal’s Gen Z Uprising’ शीर्षकको सामग्रीप्रति चासो व्यक्त गरेको हो।
काउन्सिलका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको समयावधिमा विदेशी सञ्चारमाध्यममार्फत प्रसारण भएको उक्त डकुमेन्ट्रीको विषयवस्तु र प्रभावका सन्दर्भमा गुनासो प्राप्त भएपछि ध्यानाकर्षण भएको हो। विज्ञप्तिमा निर्वाचनजस्तो संवेदनशील अवधिमा प्रसारित सामग्रीले मतदाताको धारणा प्रभावित पार्न सक्ने भएकाले यस विषयमा सचेत हुन आवश्यक रहेको उल्लेख छ।
काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ (संशोधित) र निर्वाचन आचारसंहिता, २०७२ को व्यवस्थाअनुसार सञ्चारमाध्यमले जिम्मेवार र सन्तुलित सामग्री प्रकाशन–प्रसारण गर्नुपर्ने स्मरण गराएको छ। विदेशी सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई नेपाली सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत पुनः प्रकाशन वा प्रसारण गर्दा पनि प्रचलित कानुन र आचारसंहिताको पालना गर्नुपर्ने जनाएको छ।
यस विषयमा आवश्यक समन्वयका लागि नेपाल सरकार र निर्वाचन आयोगसँग कूटनीतिक माध्यमबाट प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको काउन्सिलले जनाएको छ। साथै निर्वाचन सम्पन्न नभएसम्म संवेदनशील प्रकृतिका सामग्री पुनः प्रकाशन, प्रसारण वा सेयर नगर्न आमसञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ।
काउन्सिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सम्पादकीय स्वतन्त्रताको सम्मान गर्दै निर्वाचनको निष्पक्षता र मतदाताको स्वच्छ निर्णय प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।






