– निमा पोङ्स्युवा
धरान । धरान उपमहानगरपालिका–१ नं. वडा कार्यालयले पृथ्वीचोक आसपास अव्यवस्थित रूपमा राखिएको काउन्टर तत्काल हटाउन पत्राचार निर्देशन दिएको छ।
धरान उपमहानगरको वडा नं. १ कार्यालय र पाथिभरा कन्स्ट्रक्सनबीचको सम्झौताअनुसार पृथ्वीचोक क्षेत्रको दक्षिणतर्फ सडक प्रयोग गरी सेवा शुल्क असुल गरिँदै आएको काउन्टरका कारण सवारी आवागमनमा समस्या तथा दुर्घटनाको जोखिम बढेको उल्लेख छ।
वडा कार्यालयका अनुसार स्थानीयवासी, टोल विकास संस्था तथा वडा कार्यालयले पटक–पटक काउन्टर हटाउन पत्राचार गरे पनि हालसम्म कार्यान्वयन नभएकाले पुनः औपचारिक जानकारी गराइएको हो। पत्रमा यथाशीघ्र काउन्टर हटाउन अनुरोध गर्दै अन्यथा त्यसबाट हुने जोखिमको जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ।
उक्त पत्रको बोधार्थ नगर प्रमुखको सचिवालय, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक कार्यालय सुनसरी लाई समेत पठाइएको छ ।
यस्तै प्रकृतिको विषयमा राजेन्द्र बिक्रम वानियाले प्रधानमन्त्री तथा मन्त्री परिषदलाई विपक्षी बनाई लगाएको रिटमा अन्तरिम आदेस जारी गर्दा स्थानीय तहवाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा चल्ने सवारी साधनमा कर लगाउन मिल्ने नदेखिएको जीतपुर सिमरा उपमहानगरपालीकासँग मिति २०८२।३।३० मा भएको ठेक्का सम्झौताको प्रकरण नं. ६ मा एम्बुलेन्स शब वाहन सवारी, बारुणयन्त्र जस्ता सवारीसाधनहरुबाट सडक उपयोग शुल्क उठाउन पाईने छैन भन्ने उल्लेख भएको र जिल्ला प्रशासन कार्यालय बाराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा कर उठाउन नपाउने भनी सबै स्थानीय तहमा पत्राचार गरेको देखिएको हुँदा त्यस्ता सडकमा चल्ने सवारीमा स्थानीय तहबाट कर उठाएमा निवेदकलाई क्षति पुग्ने हुँदा सुविधा सन्तुलनको दृष्टिकोणबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा चल्ने सवारी साधानबाट ढाँट राखी वा अन्य तरिकाले कर नलिने कुराको सुनिश्चितता गर्नु भनी प्रत्यर्थीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको जानकारी विपक्षिलाई दिनू । आदेस तथा नजिर छ ।






