अशोक बिश्वकर्मा धरान । बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि यस वर्षको राष्ट्रिय बाल दिवसका अवसरमा आयोजना गरिने सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो।
हरेक वर्ष भदौ २९ गते ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाउने तयारी हुँदै आएको थियो। तर गत भदौ १० गते रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको तथा अहिले पनि सरकारी तथा गैरसरकारी संघ–संस्थाहरू विपद् प्रतिकार्य, राहत र उद्धारमा खटिनुपर्ने अवस्था रहेकाले बाल दिवसका कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।
परिषद्ले विपद्को अवस्थामा औपचारिक कार्यक्रम स्थगित गरिएको भए पनि बालबालिकाको अधिकार संरक्षण, सुरक्षा र हितका लागि आवश्यक कार्यलाई निरन्तरता दिन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
साथै, परिषद्ले प्रदेश तथा स्थानीय तहमा राष्ट्रिय बाल दिवसका लागि तय गरिएका कार्यक्रमहरू पनि स्थगित गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।





